प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

परिचय

नेपालमा आवधिक योजना संगै सुरुवात भएको दुई बर्षपछि अर्थात वि.सं. २०१५ मा तथ्याङ्क ऐन जारी भई सोहि साल पुस १७ गते साविक केन्द्रीय तथ्याङ्क विभागको स्थापना भएको देखिन्छ । यसबाट नेपाल सरकारले सात दशक अगाडी नै जनता र मुलुकको ठोस हित हुने नीति निर्माण गर्नका लागि अत्यावश्यक तथ्याङ्कको महत्वलाई आत्मसात् गरेको यथार्थ स्पष्ट हुन्छ । केन्द्रीय तथ्याङ्क विभाग स्थापना हुनुभन्दा अगाडी वि.सं. २००७ सम्म नेपालको तथ्याङ्कीय कार्य सम्पादन गर्नका लागि औद्योगिक व्यापारिक समाचार सङ्ग्रह अड्डा र जनसंख्या गोश्वारा नामका दुइवटा अड्डाहरु रहेको पाइन्छ । पछि वि.सं. २००७ मा ती दुवै अड्डाहरु गाभेर संख्या विभाग स्थापना भएको देखिन्छ वि.सं. २०१७ मा तथ्याङ्क नियमावली आउनुका साथै निजामती सेवा ऐन,२०४९ मा नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा र तथ्याङ्क समूह गठन हुनु पनि नेपालको तथ्याङ्कीय विकासक्रमका अविस्मरणीय परिघटनाहरु हुन् । वि.सं. २०५० मा केन्द्रीय तथ्याङ्क विभाग मातहतमा ३३ ओटा तथ्याङ्क कार्यालयहरु खडा गरिए । साविकको केन्द्रीय तथ्याङ्क विभाग तथ्याङ्क ऐन २०७९ बमोजिम वि.सं.२०७९ साल आश्विन २८ गतेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राष्ट्रिय तथ्याङ्क कार्यालयमा परिणत भएको छ । ऐन अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुखको रुपमा संघीय निजामती सेवाको विशिष्ट श्रेणीको प्रमुख तथ्याङ्क अधिकारी रहने व्यवस्था छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०९/१२ को निर्णयबाट यस राष्ट्रिय तथ्याङ्क कार्यालयको मातहतमा रहेका ३३ वटा तथ्याङ्क कार्यालय खारेज भइ १८ वटा तथ्याङ्क समन्वय कार्यालयहरु संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत र राष्ट्रिय किताबखानाको मिति २०८०/११/११ को निर्णयबाट संगठन तथा पद दर्ता, खारेज र थपघट समेत भए मुताविक नै मिति २०८१ साउन १ गतेबाट डोटी, अछाम र बाजुरा गरी ३ जिल्ला कार्यक्षेत्र रहने गरी तथ्याङ्क समन्वय कार्यालय, डोटी दिपायल सिलगढी नगरपालिका वडा नं. ४ राजपुर स्थित आफ्नै भवनमा सञ्चालनमा रहेको छ ।